मौवाखोलाको पुल बाढीले बगाउँदा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं, साउन ५ –

आइतबार रातिदेखि परेको अविरल वर्षाले चितवन र धादिङको सिमानामा पर्ने पृथ्वी राजमार्गको मौवा खोला पुलको एप्रोच सडक बगाएको छ । खोलाले सडक बगाएपछि राजमार्ग पूर्ण रूपमा ठप्प छ । मौवा खोलाले सडक कटान गरेपछि पुलसमेत जोखिममा छ ।

सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर शिव खनालले १२ मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको जानकारी दिए । उनले जति सक्दो छिटो सडक मर्मत गरी यातायात सञ्चालनको प्रयास गरिने बताए ।

जोगिमारा प्रहरी कार्यालयका हवल्दार उपेन्द्र श्रेष्ठले दिउँसो पुल भासिएर मानिससमेत हिँड्न नसक्ने भएको जानकारी दिए । उनले वैकल्पिक उपाय नखोजेसम्म तत्काल सडक सञ्चालनको सम्भावना नरहेको बताए ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।