काठमाडौं,
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद तन्किँदै गएपछि आज (सोमबार) बस्ने भनिएको स्थायी कमिटी बैठक फेरि बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
स्थायी कमिटी बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको पार्टी प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
यसअघि शनिबारको बैठक पूर्ण रुपमा संचालन हुन नसकेपछि आज बस्ने गरि स्थगित भएको थियो । नेकपाको विवाद तिब्ररुपमा बढेपछि पार्टीको जारी स्थायी कमिटी बैठक प्रभावित भएको छ ।
पछिल्लो पटक विवाद समाधान गर्न दुवै अध्यक्षबीच आइतबार भएको छलफल सकारात्मक नभएपछि आजको बैठक पनि नहुने अनुमान गरिएको थियो ।
असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचन सहित बहुसंख्यक स्थायी कमिटी सदस्यले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक नियमित हुन सकेको छैन ।