काठमाडौं, असार २७ –
नेपालमा थप एक जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं गोकर्णका ५४ वर्षका पुरुष रहेका छन् । काठमाडौंको सिनामंगलमा रहेको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका उक्त पुरुषमा कोरोना संक्रमण देखिएको जनाइएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।
ती पुरुष मिर्गौलाको बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो । श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो ।
कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट नआउँदै २५ गते उनको मृत्यु भयो । मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको छ ।
नेपाली सेनाको टोलीले शनिबार विहान उनको शव व्यवस्थापन गरेको छ ।