चितवन, असार २६ –
चितवनको माडीमा बाढीले बगाउँदा शनिबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय पुरुषको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
दुई दिनदेखिको वर्षाले स्थानीय रिमाल खोलामा आउको बाढीले उनलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ। खोलाले बगाएर ल्याएको अवस्थामा माडी नगरपालिका-७ हरिनगरमा तीन पुरुषको शव भेटिएको हो ।
यस्तै भरतपुर महानगरपालिका-२७ दिव्यनगरमा नारायणी नदीले पाँच मिटर ड्याम भत्काएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पानीको बहाब बढ्न थालेसँगै शुक्रबार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले लगाएको ड्याम नदीले बगाएको हो ।
अब सात मिटर ड्याममध्ये दुई मिटरमात्र बाँकी रहेको प्रहरीले जनाएको छ ।
यता वर्षाका कारण भरतपुर महानगरपालिका-११ भोजाडमा रुखले घर थिचेको छ । जसका कारण घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । त्यसैगरी यज्ञपुरीमा पनि रुख ढलेर घरमाथि परेको र पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।
'