२५ साउन, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका अनुसार संक्रमितमध्ये नौ जना प्रहरी रहेका छन् । संक्रमितहरुमध्ये ७१ जना पर्साका रहेका छन् । उनीहरुमध्ये अधिकांश वीरगञ्जका रहेको अस्पतालले जनाएको छ। त्यस्तै, तीन जना बारा र एक जना सर्लाहीका हुन् ।
संक्रमितहरुमध्ये १५ जना महिला र ६० पुरुष रहेका छन् । उनीहरुमध्ये आठ जनामा कोरोनाको लक्षण देखिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए ।
उनका अनुसार कन्ट्याक्ट ट्रेसिङ गर्दा २९ जनामा संक्रमण देखिएको हो । त्यस्तै, आफैले पैसा तिरेर परीक्षण गरेका ११ जनामा पनि कोरोना देखिएको छ । ७५ जना संक्रमित मध्ये उपचार नपाएर ज्यान गुमाएकी युवती पनि रहेकी छिन् ।