२८ साउन, चितवन । चितवनका विभिन्न अस्पतालमा उपचाररत एवम् क्वारन्टिनमा रहेका १६ जनासहित अन्य जिल्लाका ५ गरी २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएराति प्रकाशित परीक्षण नतिजाअनुसार २१ जनामा कोरोना देखिएको हो । जसमध्ये चितवनका मात्रै १६ जना रहेका छन् ।
संक्रमण देखिएकामध्ये १२ जना भरतपुरका, ३ जना राप्ती नगरपालिका र १ जना इच्छाकामना गाउँपालिकाका छन् । अन्य ५ जना भने जिल्ला बाहिरका हुन् । उनीहरु जिल्लाकै अस्पतालमा उपचाररत हुन् ।
भरतपुर महानगरपालिका १,३,४,८,१० र ११ का ७ जना पुरुष तथा ५ जना महिला छन् । उनीहरुको स्वाब विभिन्न अस्पतालबाट लिइएको थियो । राप्ती ६ का तीन जना भने क्वारेन्टाइनमा बसेका थिए । इच्छाकामनाका एक जनाको पनि अस्पतालबाट स्वाब लिइएको थियो ।
भरतपुर अस्पतालमा उपचाररत बाराका एक जना, क्यान्सर अस्पताल भरतपुरमा उपचाररत बैतडीका एक जना, पुरानो मिडिकल कलेजमा उपचाररत रौतहटका एक जना र तनहुंको क्वारेन्टाइनमा रहेका २ जनामा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । मंगलबार ३१० वटा नमुना परिक्षण गरिएकोमा २१ जनामा कोरोना देखिएको हो ।