२९ साउन, काठमाडौं । रियालिटी शो कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हिमेश पन्तलाई कार हस्तान्तरण गरिएको छ ।
गतवर्ष टेलिभिजनबाट प्रसारण गरिएको यो रियालिटी शोमा अन्तिम तीनमा परेका सुमन कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै हिमेश विजेता बनेका थिए ।
कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी र कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीले उनलाई कार हस्तान्तरण गरेका छन् । विजेता बनेको ६ महिनापछि उनले कार पाएका हुन् ।
उनले पाएको कारको मूल्य २५ लाख रुपैयाँ पर्ने आयोजकले जनाएका छन् । अब केही समयमै कमेडी च्याम्पियनको दोस्रो सिजन सुरु हुने जनाएको छ । दोस्रो सिजनमा पनि सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक रहनेछन् ।
त्यस्तै, कार्यक्रमको सञ्चालन पनि अभिनेत्री रीमा विश्वकर्माले नै गर्ने जनाएको छ।

