३० साउन, काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । हाल इमर्जेन्सी विभाग सिल गरिएको छ ।
नयाँ संक्रमित स्वास्थ्यकर्मी इमरजेन्सीको नभई अन्य वार्डको रहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिए । यद्यपि उनीहरु कुन वार्डको भनेर छुट्याउन बाँकी छ ।
योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २२ पुगेको छ । इमरजेन्सी विभागका एक सय बढी स्वास्थ्यकर्मीको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको डा दासले बताए । उनीहरुको रिपोर्ट शुक्रबार या शनिबारसम्म आउने उनले जानकारी दिए ।
उनीहरु सबै हाल होम क्वारेन्टाइनमा छन् । डा दासका अनुसार संक्रमित स्वास्थ्यकर्मीहरु हाल अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।