समाचार

डा. केसी भदौ ११ बाट पुुनः अनसन बस्दै

dr kc

१ भदौ, जुम्ला । चिकित्सा क्षेत्रमा सुधार अभियान चलाइरहेका डा. गोविन्द केसीले आगामी भदौ ११ गतेदेखि अनशन बस्ने चेतावनी दिएका छन् ।

साउन ११ गते तीन बुँदे माग सहित तीन हप्ताको अल्टिमेटम दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनी अनशन बस्न लागेका हुन् । भदौ १० गतेभित्र सरकारले माग सम्बोधन नगरे भदौ ११ गतेबाट सत्याग्रह शुरु गर्ने उनको भनाइ छ ।

डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएस लगायतका कार्यक्रमहरु सञ्चालन गर्न र तत्काल स्नातकोत्तर तहको अनुमति प्रदान गर्न माग गरेका छन् ।

गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन शुरू गर्न, प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न र चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्न पनि केसीले माग गरेका छन् ।

उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न र विश्वविद्यालय, मेडिकल काउन्सिल र स्वास्थ्य विज्ञान प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न पनि माग गरेका छन्‍। केसीले बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गर्न पनि माग गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस