३ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले दुख व्यक्त गरेका छन् ।
राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै निवासमा निधन भएको थियो । उनको निधनप्रति पूर्वराजा ज्ञानेन्द्रले मंगलबार शोक वक्तव्य निकालेर दुःख व्यक्त गरेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रको तर्फबाट उनका संवाद सचिव डा. फणीराज पाठकले जारी गरेको वक्तव्यमा राष्ट्रकवि घिमिरेको निधनले नेपाली वाङमय र साहित्य क्षेत्रमा अपूरणीय क्षति भएको उल्लेख गरिएको छ । पूर्वराजा ज्ञानेन्द्रले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवावारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
तत्कालीन राजा ज्ञानेन्द्रले २०६० असोजमा घिमिरेलाई ‘राष्ट्रकवि’को उपाधि प्रदान गरेर अभिनन्दन गरेका थिए । २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ‘छन्द शिरोमणि’को उपाधिबाट अभिनन्दन गरेको तीन दिनपछि उनलाई ‘राष्ट्रकवि’काे उपाधि दिइएकाे थियाे ।
वि. सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका घिमिरेको मंगलबार १०१ वर्षको उमेरमा निधन भएको हो । उनी लामोदेखि समय श्वासप्रश्वासमा समस्याबाट पीडित थिए ।