७ भदौ, काठमाडौं । गृह मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा राष्ट्रसेवकमाथि दुव्र्यवहार गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिएको छ ।
गृह प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले आइतबार बेलुका विज्ञप्ति जारी गर्दैै केही उच्छृंखल व्यक्तिहरुबाट दुव्र्यवहार तथा अपमानित हुने क्रियाकलाप गरेको बुझिएको भन्दै तत्काल कारबाही गर्न मातहतका सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।
‘देशका केही स्थानहरूमा कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा आफूलाई जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मी लगायतका राष्ट्रसेवक प्रति केही उच्छृंखल व्यक्तिहरूबाट दुर्व्यवहार तथा अपमानित हुने क्रियाकलाप गरेको बुझिएकोले त्यस्ता कार्य हुन/गर्न नदिन तथा संलग्न हुनेहरू उपर तत्काल कानून बमोजिम कारवाही हुन मातहत सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
कोरोना संक्रमण जोखिमको मूल्यांकन, विश्लेषण समेतको आधारमा थप जोखिम बढ्न नदिन संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी काठमाडौं उपत्यकाका ३ वटै जिल्लासहित ४७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबाट निषेधाज्ञा आदेश जारी भएको मन्त्रालयले जनाएको छ ।