प्रदेश नं ५ मा घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क

११ भदौ, बुटवल । प्रदेश नं ५ सरकारले लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको  बैठकले आर्थिक वर्ष २०७७/०७८ मा उद्योगको दर्ता दस्तुरमा पूर्ण छुट दिने निर्णय गरेको हो ।

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश लोक सेवा आयोग, प्रदेश योजना आयोग, प्रदेश पूर्वाधार विकास प्राधिकरणको संगठन संरचना तथा अस्थायी दरबन्दी स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताए ।

यस्तै बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ भने प्रदेश स्तरीय एकीकृत प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी मस्यौदा गर्न स्वीकृति प्रदान गरेको छ ।

बैठकले कानुन मस्यौदा कार्यदलको म्याद पुस मसान्तसम्म थप गरेको छ । यस्तै प्रदेश विपद व्यवस्थापन कार्यसञ्चालन निर्देशिकाको पहिलो संशोधनलाई स्वीकृत प्रदान गरिएको प्रवक्ता चौधरीले बताए ।

एनएमबि न्यूज