१३ भदौ, दैलेख । दैलेखको पश्चिम ठाटीकाँधमा २३ वर्षीया पार्वती शाहीको मृत्यु भएपछि गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिएको छ ।
दरबन्दीका डाक्टर स्वास्थ्य केन्द्रमा नभएकाले उपचारको अभावमा सुत्केरी शाहीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको स्थानीयले बताएका छन् ।
गाउँपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा १२ भदौमा सुत्केरी भएकी शाहीलाई अत्याधिक रक्तश्राव हुँदा थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बिच बाटोमा मृत्यु भएको प्रहरी चौकी ठाटीकाँधले जनाएको छ ।
शुक्रबार बिहान ११ बजे लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको र दिउँसो तीन बजे पार्वतीले छोरी जन्माएकी थिइन् । अस्पतालले समयमै रेफर नगरेको र उपचारका लागि पालिकाले हेलिकप्टर वा अन्य साधनको व्यवस्था नगरिदिएका कारण पार्वतीको मृत्यु भएको उनका जेठाजु टेकवहादुर शाहीले बताए ।
स्वास्थ्य केन्द्रका निमित्त ईन्चार्ज लक्ष्मी रावतले आवश्यक सामग्री र डाक्टर नहुँदा उपचारमा कठिनाई भएकाले सुत्केरी बचाउन नसकिएको बताइन् । स्वास्थ्य केन्द्रमा डाक्टर नभएकाले पनि उपचारमा समस्या देखिएको थियो ।
सुत्केरीको मृत्युपछि स्थानीयले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका हुन् । मृतक शाहीको शव स्वास्थ्य केन्द्रमा राखिएको छ भने बच्चाको अवस्था सामान्य छ ।

