१३ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय गैरजिम्मेवार बनेको आरोप लगाएको छ ।
शनिवार नेवि संघको तर्फबाट एक विज्ञप्ति जारी गर्दै महामन्त्री बलदेव तिमिल्सिनाले त्रिविका पदाधिकारी विद्यार्थीप्रतिको जिम्मेवारी र दायित्व निर्वाह गर्न अक्षम रहेको भन्दै खेद प्रकट गरेका छन् ।
अहिलेको कोरोना संकटको अबस्थालाई अवसरको रुपमा सदुपयोग गर्दै खोज, अध्ययन र अनुसन्धानमार्फत विश्वका अन्य बिश्वबिद्यालय सरह नयाँ–नयाँ तथ्य सँगै यसको निराकरणका उपायहरु पत्ता लागाउनु पर्नेमा त्यसो गर्न नसकेको उनको आरोप छ ।
यो समयमा उल्टै विद्यार्थीहरुको भविष्य अन्धकार बनाउने काममा लागेको, तयारी गर्दैछौँ भन्ने रेडीमेड जवाफ दिएको र बिश्व विद्यालयका पदाधिकारीबाट थप बिकृति र बिसंगति ल्याउने काम बाहेक केही गर्न नसकेको महामन्त्री तिमल्सिनाको आरोप छ ।
परीक्षाको लागि सूचना सम्प्रेषण मात्र गरेको,अनलाइन कक्षा संचालन गर्न नसकेको, बैकल्पिक माध्यमबाट पनि परीक्षा संचालन गर्न नसकेको संघको आरोप छ ।
संघले बिश्वबिद्यालयलाई जोगाउंदै शैक्षिक, प्राज्ञिक मर्यादित वातावरण निर्माणका निम्ति हस्तक्षपकारी भुमिकासहित बिश्वबिद्यालयको संरक्षणका निम्ति अपील गरेको छ ।