१५ भदौ, रौतहट । रौतहटमा एक महिलाको शव फेला परेको छ । जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर ३ मुसरिया गाउँको उखुबारीमा अन्दाजी ४० वर्षीया मिन्त्रा देवीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कुटपिट गरी सालले घाँटी कसेर हत्या गरिएको अवस्थामा मिन्त्री देवीको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।
घटना प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको आशंका रहेको डिएसपी श्रेष्ठले बताए । महिलाको हत्याको अनुसंधान गर्न आवश्यक जनशक्ति परिचालन गरिएकाले तत्कालै हत्याको कारण यकिनका साथ भन्न सकिने अवस्था भने नरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ । हाल घटनास्थललाई सुरक्षित राखेर मुचुल्का उठाउने काम भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।
रौतहटमा पछिल्लो १५ दिनमा ४ जनाको हत्या भएको छ । साउन ३१ गते गरुडा नगरपालिका ८ जिङ्गडियामा सच नर्सरीमा कार्यरत २० वर्षीय निरन्जन रामको घाँटी रेटेर हत्या भएको थियो । त्यस्तै भदौ ३ गतेका दिन राति करिब सवा नौ बजे हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई हत्या भएको थियो ।
जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर २ खेसरहिया टोल निवासी ६५ वर्षिय पुजारी साहलाई अज्ञात समूहले खाना खादै गरेको अवस्थामा कन्चटमा गोली हानी हत्या गरेको थियो ।
त्यसैगरी निरन्जन रामको हत्याको आरोपमा पक्राउ १९ वर्षीय युवा विजय महराको प्रहरी हिरासतमा दिइएको चरम यातनाको कारण नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा ज्यान गएको थियो । यी घटना प्रहरीले सुल्झाउन नपाउँदै आज फेरि एक महिलाको शव फेला परेको छ ।