१७ भदौ, काठमाडौं । हाल पूर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा छ । हाल गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागले आज दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक/दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।