२३ भदौ, काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपूत आत्महत्या प्रकरणमा मुछिएकी उनकी प्रेमिका रिया चक्रवर्ती अन्ततः पक्राउ परेकी छन् । लागू औषत प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले उनलाई पक्राउ गरेको हो ।
यसअघि उनीसँग तीन पटकसम्म सोधपुछ गरेको थियो। सोधपुछका क्रममा उनले आफू पनि ड्रग्स प्रयोग गर्दै आएको बयान दिएकी थिइन्. सोही बयानका आधारमा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेकी रियाको मेडिकल टेस्ट र कोरोना टेस्ट गरिने छ ।
यसअघि ड्रग्स खरिद गरेको आरोपमा रियाका भाई शोविक चक्रवर्तीलाई पनि पक्राउ गरिएको थियो । रियाले आफूले सुशान्तका लागि यी सबै काम गरेको बयान दिएको भारतीय मिडियामा उल्लेख छ ।
यसैविच, नायिका चक्रवर्तीको उजुरीपछि बान्द्रा प्रहरीले सोमबार सुशान्तकी बहिनी प्रियंका सिंह र दिल्लीमा अवस्थित मनोहर लोहिया अस्पतालका डाक्टर तरुण कुमारको विरुद्धमा एफआइआर दर्ता गरेको छ । सुशान्तको आत्महत्यामा उनलाई उत्प्रेरित गरेको आरोप रियाले लगाएकी छिन् ।