२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा क्रमश: खुकुलो पार्दै भोलिदेखि सार्वजनिक/निजी यातायातका साधन र व्यापार-व्यवसाय खोल्ने निर्णय गरिएको छ । भदौ ४ गतेदेखि जारी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय काठमाडौं प्रशासनले गरेको हो ।
बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको हो । यो सातापछि भने कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञाबारे पुनर्विचार गर्न सकिने एक प्रमुख जिल्ला अधिकारीले बताए ।
१६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोर-विजोर प्रणाली लागू हुने निर्णय गरिएको छ। निजी सवारी साधनमा पनि जोरविजोर प्रणाली लागू हुनेछ । व्यापार व्यवसाय पनि खुल्नेछन्। तर, आवश्यक सर्त भने लागू गर्नुपर्नेछ ।
प्रशासनका अनुसार पार्टी प्यालेस, शैक्षिक संस्था, फिल्म हल, सभा, गोष्ठी, सेमिनारलगायतका सार्वजनिक कार्यक्रममा भने रोक लगाइएको छ ।