समाचार

कोरोनाविरुद्ध आयुर्वेदिक औषधिको प्रयोग बढाऔं : प्रधानमन्त्री ओली

kp oli

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेदिक नेपालकाे माैलिक चिकित्सा प्रणाली रहेकाे र निराेगी नेपाल निर्माण अभियानमा यसकाे असाधारण भूमिका रहेको बताएका छन् ।

काेभिड- १९ काे उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल र परामर्श गर्दै उनले आयुर्वेदभित्रै याेगा पनि पर्ने बताए ।

‘आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुबै हो’,प्रधानमन्त्री ओलीको भनाई छ । उनले मेशीनहरू  एलोपेथिक नभएको प्रष्ट पार्दै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकरणको प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जोड दिए ।

आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेको र यसमार्फत भविष्यमा सिंगो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगाको विकास गर्ने लक्ष राखिएको प्रधानमन्त्री ओलीको भनाई छ ।

निरोगी नेपाल निर्माणमा आयुर्वेदको भूमिका व्यापक बढाउन सरकार दृढ रहेको धारणा राख्दै प्रधानमन्त्रीले भने, ‘हाम्रा पूर्वजहरूले औषधिमय खानपानको प्रबन्ध मिलाएका, ताजा खानेकुरा खाने परम्परा बसाएका र लामो अनुुभव र प्रयोगबाट औषधिमय तत्वको पहिचान र प्रयोग गरेका हुन् ।’

कोभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयोगात्मक मात्रै नबनाउन र यसको प्रयोगलाई बढाउन प्रधानमन्त्रीको सुझाव छ । कार्यक्रममा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल“प्रचण्ड“ का  साथ विज्ञहरूसँग तीन घण्टा सुझाव लिएका प्रधानमन्त्रीले आयुर्वेद उपचारमा हाल गरिरहेका कामहरू र उपयोगी घरेलु विधिहरूको सम्मान गर्न तथा संचारमाध्यमबाट त्यसको  व्यापक प्रचारप्रसार गर्न पनि जोड दिए ।

उक्त अवसरमा आयुर्वेद विभागका महानिर्दैशक वासुदेव उपाध्याय, डा.ऋषिराम काेइराला, डा. प्रदीप केसी, विनाेद पाैडेल, डा. रामआधार यादव, डा. सन्ताेष ठाकुर, प्रा.डा . डीबी राेका, डा. शिवमंगल प्रसाद, डा. प्रकाश ज्ञवाली र डा.धनिकलाल भर्खरलगायतले आआफ्ना धारणा राखेका थिए ।

प्रधानमन्त्रीले आयुर्वेदिक क्षेत्रलाई महत्व दिएर पहिलाेपटक परामर्श गरेकाेमा उनीहरुले विशेष आभार प्रकट गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस