१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालन मार्फत आम्दानी भएको रकम नेपालकै बैंक खातामा आउने व्यवस्था गरेको छ । हाल युट्युव लगायतमा भएको आम्दानीे वेस्टर्न युनियन मनि ट्रान्सफरमार्फत प्राप्त गर्दै आएकोमा अब नेपालकै बैंक खातामा पाउने व्यवस्था भएको राष्ट्र बैंकले सूचना प्रकाशन गरी जानकारी दिएको छ ।
सूचनामा प्रविधि सम्बद्ध दक्षता तथा विज्ञताको निकासी बिक्रीमा प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिए वापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक/व्यापारिक कारोबारवापत प्राप्त हुने रकम लगायतका रकमहरु मान्य नेपाली बैंक खातामा नै मान्यता दिने भनको हो ।
राष्ट्र बैंकको यो व्यवस्थापछि स्वदेशी बैंकको खातामा विदेशी मुद्रा प्राप्त भए पश्चात् भुक्तानी सेवा प्रदायक (बैंक तथा वित्तीय संस्था समेत) ले सञ्चालन गरेको ग्राहकको वालेट लगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सक्नेछन् ।
राष्ट्र बैंककाअनुसार विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिए बमोजिमको शुल्क, रोयल्टी लगायत आवश्यक परी सोको भुक्तानी विदेशमा पठाउनुपर्ने भएमा यस बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी निर्देशनको पालना गर्नुपर्नेछ ।
यसरी आम्दानी भएको रकमका सम्पत्ति शुद्घीकरण तथा आतंकबादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन एवम् प्रचलित अन्य ऐन, कानून तथा निर्देशनको अनिवार्य पालना भएको हुनुपर्ने तथा सम्पन्न कारोवारहरुको मासिक विवरण तोकिएको ढांचामा महिना समाप्त भएको मितिले १५ दिन भित्र यस्तो कारोबार गर्ने बैंक तथा अन्य संस्थाले राष्ट्र बैंकमा बुझाउनु पर्नेछ ।