मकवानपुरमा गाँजासहित ३ जना पक्राउ

६ असोज, मकवानपुर । मनहरि गाउँपालिका–६ स्थित लोथर खोलाको बगरको बाटो प्लाष्टिकको बोरा बोकी हिँडिरहेका तीन जनालाई प्रहरीले  रोकी जाँच गर्दा अवैध गाँजा फेला परेपछि उनीहरु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरुलाई १०४ केजी अवैध गाँजासहित आज पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय कपिल भन्ने रुप खड्का ठकुरी, सोही वडा बस्ने ३० वर्षीय टलकबहादुर घलान र सोही गाउँपालिका–४ बस्ने २७ वर्षीय मदन कोइराला रहेका छन् ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।