१४ असोज, काठमाडौं । अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
डा. भट्टराई पत्नी हिसिला यमीसँगै बुधबार अपरान्ह शिक्षण अस्पताल गएका हुन् । डा. केसीलाई भेटेर डा. भट्टराईले उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र सरकारले कुनै चासो नदिएकोप्रति असन्तुष्टि व्यक्र गरेका छन् ।
भेटपछि उनले ट्वीटरमा लेखेका छन्- ‘अरूको स्वास्थ्यका लागि आफ्नो जीवन जोखिममा राख्दै अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दैछ! १९ औं सत्याग्रहको १७ औं दिनसम्म राज्यले वहाँको जायज माग र जोखिमउन्मुख स्वास्थ्य स्थितिबारे कुनै चासो नराख्नु अमानवीयताको पराकाष्ठा हो ! @kpsharmaoli सरकार आँखा खोल !’
डाक्टर केसी विगत १७ दिनदेखि अनसन बसेका छन् । चिकित्सा शिक्षा सुधारमा आफूले राखेको माग सरकारले पूरा नगरेको भन्दै उनी १९ औं पटक अनसन बसेका हुन् । पटक पटक सरकारले माग पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे पनि कार्यान्वयन नगरेको भन्दै सरकारलाई दबाव दिन उनी अनसन बसेका हुन् ।