३ कात्तिक, काठमाडौं । कोरोना संक्रमितको परीक्षण तथा उपचारबाट सरकारले हात झिकेपछि चौतर्फी विरोध भइरहेको छ । सरकारले विपन्न र अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलगायत बाहेक अरूको परीक्षण र उपचार नगर्ने निर्णय गरेको थियो ।
स्वास्थ्यकर्मीले पनि कोरोना बीमा गरेको भए बीमाबाटै परीक्षण तथा उपचारको खर्च व्यहोरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयमा उल्लेख छ ।
उपचारका लागि बेडसमेत नपाएर भौतारिनुपर्ने अवस्था आएका बेला सरकारले गरेको यस्तो निर्णयबाट संक्रमित थप प्रताडित हुने धेरैको चिन्ता छ । यहिबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले उक्त निर्णयको विरोध गरेका छन् ।
थापाले कडा टिप्पणी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले संख्या गन्ने बाहेक अन्य काम गर्न नसक्ने घोषणा गर्न भन्दै व्यंग्य गरेका छन् । उनले भनेका छन्- ‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय ‘कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नु !’ यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्री केपी शर्मा ओली बरु सिधै भनिदिनुस् ‘सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’