लन्डन । युरोपमा पछिल्लो साता कोरोना भाइरस संक्रमितको मृत्युदर ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । डब्ल्यूएचओका अनुसार बेलायत, फ्रान्स, रुस, नेदरल्यान्ड तथा स्पेन लगायतका मुलुकमा एक तिहाइले कोरोना संक्रमण वृद्धि भएसँगै मृत्युदर बढेको हो ।
यस्तै अस्पतालहरू अहिले कोभिडका बिरामीले खचाखच भरिएको डब्ल्यूएचओकी प्रवक्ता डा. मार्गरेट ह्यारिसले बताइन् । ‘अहिलेको चिन्ता भनेको धेरै बिरामी मानिसहरूले अस्पतालका सघन उपचार कक्षहरू भरिन थालेका छन्’, उनले भनिन्, ‘अस्पतालको क्षमता र व्यवस्थापनमा राम्रो सुधार गरिएको भएपनि थुप्रै देशका अस्पतालहरू छिट्टै भरिँदै छन् ।’
पछिल्लो समय युरोपेली मुलकमा संक्रमण तीव्र बनेसँगै नयाँ प्रतिबन्ध लगाइएको र त्यसको प्रभावकारीता थाहा पाउन दुई साता कुर्नुपर्ने प्रवक्ता ह्यारिसले बताइन् । ‘हामीले संक्रमितको संख्या घट्दै गएको देख्छौँ तर त्यो रातारात देखिने कुरा होइन’, उनले भनिन् ।