१३ कात्तिक, बारा । बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट तस्करीका सामान ल्याएकाहरुसँग झडप हुँदा तीन प्रहरी र एक बालकसहित चार जना घाइते भएका छन् ।
गोली लागेर सुवर्ण गाउँपालिका वडा नं.२ कै १४ वर्षीय रंजन कुमार यादव घाइते भएका हुन् । बालकको स्थानीय एस.आर अस्पतालमा उपचार हुँन नसक्दा थप उपचारको लागि बिरगंजको नारायणी बयोधा अस्पतालमा रिफर गरिएको अस्पतालका चिकित्सक जितेन्द्र यादवले जानकारी दिए ।
प्रहरीतर्फ घाइते भएका सई विरेन्द्र गिरीसहित तीन जनाको कलैयामै उपचार भइरहेको छ । जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले प्रहरीले आत्मसुरक्षाका लागि अन्तिम अवस्थामा हवाई फायर गर्दा एक बालक घाइते भएको जानकारी दिए ।
स्थानीयले गएराति भारतबाट मोटरसाइकलमा प्याज ओसारेका थिए । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा लुकिछिपी प्याज ओसार्ने र बिक्री गर्ने क्रम चलिरहेको थियो । बुधबार राति प्याज ल्याएर आएकाहरुलाई सीमा क्षेत्र नजिकै रहेको नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लियो । त्यसपछि थप स्थानीयसमेत आएर प्रहरीहरुमाथि आक्रमण गरी प्याज लगेर गएको प्रहरी उपरीक्षक पंगेनीले बताए ।
उनका अनुसार प्रहरीले स्थिति नियन्त्रणका लागि १२ राउन्ड हवाई फायर गरेको थियो । प्रहरीको गोली लागेर घाइते भएका बालकको अवस्था गम्भीर छ । उनको टाउकोमा गोली लागेको छ ।