१८ असोज, काठमाडौं । स्वास्थ्य समस्या भएका राष्ट्रिय खेलाडीलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले आर्थिक सहयोग गरेको छ । कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्वराष्ट्रिय खेलाडीलाई उपचार खर्च स्वरुप आर्थिक सहयोग गरेको हो ।
एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई चार लाख रुपैयाँ सहयोग प्रदान गरेको कोषले जनाएको छ । कोषले एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरेको छ। क्यान्सर रोगबाट पीडित राईको गत साउन १९ गते निधन भएको थियो । उक्त रकम राईकी पत्नी मन्जु श्रेष्ठ राईलाई हस्तान्तरण गरिएको कोषले जनाएको छ ।
त्यस्तै, बास्केटबलकी सविता खड्कालाई एक लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदान गरिएको छ । सहयोग पाउने तीनै जनालाई घुँडाको समस्या छ ।
मनीषाको रकम नेपाल कबड्डी संघका प्रतिनिधिले मनीषालाई हस्तान्तरण गर्ने गरी बुझेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव एवं कोषका अध्यक्ष रमेशकुमार सिलवालले उनीहरुलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले कल्याणकारी कोष २०६८ सालबाट स्थापना गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठले बताए ।
कोषमा जम्मा गरिएको रकमको व्याजबाट समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गरिँदै आएको छ ।