२२ असोज, काठमाडौं । सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई आउन दिने भनेपनि हालसम्म कोही पनि पर्यटक नेपाल घुम्न आएका छैनन् । कात्तिक १ गते देखि अन–अराइभल भिसा खुल्ला गर्ने निर्णय सरकारले गरेपनि सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थाका कारण विदेशी पर्यटकहरुले सोधपुछ गरेपनि बुकिङ नगरेको पर्यटन व्यवसायीहरु बताउँछन् ।
कुनै पनि पर्यटक घुम्न आउँदा नेपाल आइसकेपछि सात दिन क्वारेन्टिनमा बस्नुपर्छ । त्यसपछि पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आए मात्रै पदयात्रा र पर्वतारोहणका लागि पर्यटक जान पाउँछन् । त्यसैले पनि पर्यटकलाई सहजै नेपाल घुम्ने वातावरण अझै बनिसकेको देखिँदैन । पर्यटन व्यवसायी सुदर्शन नेपालका अनुसार पछिल्लो समय नेपालमा पदयात्रा गर्न, पर्वतारोहण गर्न र र्याफ्टिङ गर्न सोधपुछ गर्ने पर्यटकहरुको संख्या बढेको छ ।
खासगरी नेपालमा कोभिड संक्रमणका लागि के कस्ता मापदण्ड छन भन्ने सम्बन्धमा पर्यटकहरुले सोधपुछ गरिरहेका छन् । तर पछिल्लो समय काठमाडौं उपत्यकामा बढ्दै गएको संक्रमणको स्थितिका कारण आफूहरुले टिकट बुकिङ गर्न आग्रह गर्न नसकेको नेपालले बताए । आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले पनि नेपालमा घुम्नका लागि तय भएको मापदण्डको विषयमा पर्यटकहरुले सोपुछ गरिरहेको बताए ।
संसारभर नेपाल पदयात्रा र पर्वतारोहणका लागि प्रख्यात भएकाले पदयात्रा र पर्वतारोहणका लागि आउन चाहने पर्यटकहरुले नै सोधपुछ गरिरहेको उनले बताए । तर अहिलेसम्म कुनैपनि पर्यटकले नेपाल घुम्नका लागि टिकट बुकिङ गरिनसकेको सापकोटाले जानकारी दिए ।