२५ भदौ, काठमाडौं । नेपाली सेनाले सिन्धुपाल्चोक जुगल गाउँपालिका २ नाम्फामा रहेको जोखिम ढुंगा हटाएको छ । नेपाली सेनाले ‘अपरेशन नाम्फा बचाउ’ नाम दिएर जोखिम ढुंगा हटाएको हो ।
असोज २३ गते रोटरी ड्रिल र विस्फोटक पदार्थको सन्तुलित मात्रा प्रयोग गरेर नाम्फादेखि १ किलोमिटर माथि र सञ्च गाउँभन्दा करिब २०० मिटर तल १७/१३/१२ क्यू फिटको विशाल ढुंगालाई सुरक्षित रुपमा हटाइएको जनसम्पर्क तथा सूचना निर्देशनालयका सहाकरथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।
असोज ६ गते बसेको जिल्ला व्यवस्थापन समिति, सिन्धुपाल्चोकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तैनाथ नेपाली सेनाको गोरख बक्स गण, कालीसिद्धी गण तथा, माथिल्लो बलेफी हाइड्रोपावरका प्राविधिकहरुको समन्वयमा उक्त ढुंगालाई सुरक्षित रुपमा हटाउनको लागि निर्देशन दिएको थियो । जसलाई ‘अपरेशन नाम्फा बचाउ’ नाम दिइएको थियो ।
विशाल ढुंगा सुरक्षित रुपमा हटाउन सफल भएकोमा २५ असोजमा कार्यस्थलमा खटिएका नेपाली सेनाका जवानहरुको सम्मानमा स्थानीय जनप्रतिनिधि र स्थानीयवासीहरुले एक कार्यक्रम आयोजना समेत गरेका छन् । कार्यक्रममा नागरिक–सैनिक सम्बन्ध अझ प्रगाढ बनाउन नेपाली सेना सदैव क्रियाशिल रहने सेनाले जनाएको छ ।
२०७२ सालमा आएको भूकम्पको कारण ढुंगा पहिलेको स्थानबाट केही मात्रामा सरेर तल होचो भूभागमा झरेको थियो । सो ठाउँका जमिन प्राकृतिक रुपमा निकै खुकुलो रहेको हुँदा जुगल गाउँपालिका–२ अन्तर्गत सान्चो, नाम्फा ठूलो र नाम्फा सानो गाउँ त्रासमा थियो ।
उक्त ढुंगाको कारण नाम्फा गाउँको १४९ र सञ्च गाउँका ११५ घरमा भौतिक तथा मानवीय क्षति हुनसक्ने सम्भावना थियो ।