समाचार

कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरामा पुरिएर पाँच कामदारको मृत्यु

pahiro 2

१९ कात्तिक, कावासोती । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरामा पुरिएर पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार आज साँझ पहिरामा पुरिएका थिए ।

सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेका अवस्थामा माथिबाट खसेको सुख्खा पहिरामा पुरिएका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिए । मृत्यु हुनेमा सबै  बुलिङटार –४का  २० वर्षीय  गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र  ताराबहादुर लुङ्गेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको बताइएको छ ।

पहिरामा पुरिएका पाँचै जनालाई इलाका प्रहरी कार्यालय बुलिङ्टारबाट खटिएको  प्रहरी टोली  र स्थानीयवासीको सहायतामा निकालिएको थियो । पहिरामा परी दुई जना घाइते भएका छन् ।

एक्काइस वर्षीय कृष्ण लुङ्गेली र १९ वर्षीय केवल सिंह लुङ्गेली मगर घाइते भएका हुन् । उनीहरु पहिरोमा परेपछि अन्य कामदारले उद्धार गरेका थिए । उद्धार गरिएका दुवै जनाको भरतपुरमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस