२७ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमको मन्त्री बन्ने बाटो खोल्दै यसअघि जारी अन्तरिम आदेश निष्क्रिय पारेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बुधबार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’ मा गौतमलाई मन्त्री नबनाउन सर्वोच्चले दिएको अन्तिरिम आदेश संवैधानिक इजलासबाट निष्क्रिय भएसँगै उनको मन्त्री बन्ने बाटो खुलेको छ । बर्दियाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भई पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयले भदौ २९ मा राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको थियो । त्यसपछि गौतमविरुद्ध मन्त्री बन्न नपाउने र उनको राष्ट्रियसभा सदस्यतासमेत बदर हुनुपर्ने आदेश जारी गर्न माग राखेर सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो । यसअघि असोज ७ मा निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले गौतम राष्ट्रियसभा सदस्य हुन पाउने तर उनलाई मन्त्री बन्न रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको थियो ।
‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’ मा वामदेव गौतमलाई मन्त्री नबनाउन सर्वोच्च अदालतले दिएको अन्तिरिम आदेश संवैधानिक इजलासबाट निष्क्रिय भएसँगै उनको मन्त्री बन्ने बाटो खुलेको छ ।
सर्वोच्चले प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित व्यक्तिलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने निर्णयले गम्भीर संवैधानिक व्याख्याको प्रश्न उठेको भन्दै गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश गरेको थियो । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई संवैधानिक जिम्मेवारी दिने लिने काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो । मुद्दा परेपछि उनको मन्त्री बन्ने सम्भावना रोकिएको थियो । त्यसपछि संवैधानिक इजालासमा गएको गौतमको मुद्दामा बुधबार अन्तरिम आदेश जारी नहुनेगरी आदेश भएको हो ।
सर्वोच्चका केही न्यायाधीशमा कोरोना संक्रमण देखिएको र दसैं बिदा परेकाले ४० दिनयता संवैधानिक इजलास बस्न सकेको थिएन । दसैंपछि पहिलोपटक बुधबार बसेको संवैधानिक इजलासमा मुद्दाको किनारा लगाउँदा राय बाझिएको स्रोतले बताएको छ । स्रोतका अनुसार मुद्दाको निर्णयमा न्यायाधीशको राय बाझिएको भनिए पनि बुधबार कुनै लिखित आदेश आएको छैन । ‘लिखित आदेश आएको छैन । लिखित आदेश नआएसम्म राय बाझिएको भन्न सकिने अवस्था छैन,’ सर्वोच्च अदालत स्रोतले भनेको छ । सर्वोच्च अदालतका अनुसार बिहीबार लिखित आदेश आउनेछ । यो समाचार आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेका छन् ।
'