२८ कात्तिक, बैतडी । बैतडीको खोड्पेमा गएराती दुर्घटनामा परि मृत्यु भएका ९ मध्ये चार जनाको सनाखत भएको छ ।
बैतडीको दोगडाकेदार ६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको सनाखत भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
मृतक चन्द र ऐरको घटनास्थलमै मृत्यु भएको हो भने कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ऐरको शव बसले च्यापिएकोले निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । अन्य ५ जना मृतकको पहिचान हुन सकेको छैन् । उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
सो दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते ८ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २६ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको हो ।
सानो घुम्तीबाट बस ६ सयमिटर जति तल खसको छ । दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ । बस बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ । क्षमताभन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकोले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।