२५ मंसिर, मोरङ । विराटनगरको मध्यबजारबाट प्रहरीले करिब ३३ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ ।
भन्सार छलेर चोरी पैठारी गरी भण्डारण गरेको कपडा प्रहरीले बिहीबार दिउँसो बरामद गरेको हो । विराटनगर-७ जलजला चोकनजिक तरुणकुमार साह (रौनियारले) भण्डारण गरेको तयारी कपडा बरामद गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।
बरामद कपडामा सर्ट ३२८३ पिस, जम्फर २३ पिस र पाइन्ट-३५ पिस छन् । उक्त कपडाको मूल्य करिब ३३ लाख रुपैयाँ रहेको प्रहरीले बताएको छ । भन्सार चोरी पैठारी गरी भण्डारण गरिएको सूचना पाएपछि प्रहरी गोदाममा पुगेको थियो । बरामद गरेको उक्त कपडा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस