३ पुस, टोकियो । जापानको राजधानी टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित फेला परेका छन् । टोकियोको महानगर प्रशासनले बिहीबार एकैदिन ८२२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ ।
सङ्क्रमितको सङ्ख्या अत्यधिक बढ्दै गएपछि स्वास्थ्य सेवा समेत अपर्याप्त भएको अधिकारीहरूले जनाएका छन् । टोकियोमा यसअघि गत बुधबार एकैदिन ६७८ जना सङ्क्रमित भएका थिए ।
टोकियोका गभर्नर युरिको कोइकेले जनताको जीवन जोगाउनका लागि आफुहरू सबै प्रकारका सतर्कता र प्रयासहरू गर्न लागिरहेको जानकारी दिएका छन् । एक करोड ४० लाख जनसङ्ख्या भएको राजधानीमा कोरोनाबाट सङ्क्रमितहरूको प्रभावकारी उपचार सेवाका लागि थप सामान्य शैयाहरूको स्थापना गरी सेवा दिन अस्पतालहरूलाई निर्देशन दिइएको उनले बताएका छन् ।
टोकियोमा बिहीबार बेलुकासम्म ४९ हजार ४९० जना सङ्क्रमित भएका छन् । सङ्क्रमितहरूको सङ्ख्या देशभरी नै बढिरहेको छ । देशभरी बिहीबार एकैदिन तीन हजार २११ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
जापानमा अहिलेसम्म कुल एक लाख ९० हजार ९३५ जना सङ्क्रमित भएका छन् भने कोरोना लागेपछि मृत्यु भएकाहरूको सङ्ख्या दुई हजार ८०४ रहेको छ । एसियाली विकसित मुलुक जापानमा अहिले कोरोना भाइरसको महामारीको तेस्रो चरणमा छ ।
'