Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

जापान जाने सपना तुहिएपछि दाजुभाइको लोभलाग्दो कृषि कर्म

४ पुस, बागलुङ । जापान जाने सपना तुहिएपछि सम्मर र ज्ञान खत्रीको जीवनले चार वर्षअघि एकाएक नयाँ मोड लियो । पाँच वर्ष मलेशियामा बिताएर घर फर्केका खत्री दाजुभाइ रोजगारीका लागि अझ राम्रो देश जान चाहन्थे ।

जिन्दगी सोचेझैँ कहाँ छ र ? जापानका लागि बन्नै लागेको काम अन्तिममा आएर बिग्रियो । काठमाडौं धाउँदाको सास्ती र खर्च उस्तै । पटकपटकको प्रयास बिफल भएपछि खत्री दाजुभाइले विदेशको मोह सधैँका लागि त्यागे ।

गाउँ फर्केपछि बिनाइलम बस्न मनले मानेन । दुई भाइ मिलेर नयाँ अठोट लिए–गाउँमै केही गर्ने, स्वरोजगार बन्ने । गलकोट नगरपालिका–१ दुदिलाभाटीका खत्री दाजुभाइको चिनारी अहिले सफल उद्यमीका रुपमा छ । “विदेशको रहर नभएको होइन, कोशिस पनि गरियो, उताको काम नभएपछि कृषितिर लाग्यौँ”, ३० वर्षीय ज्ञानले भने । जापानको चक्करमा पैसा पनि डुबेको उनले सुनाए । विदेशको जति कमाइ नभए पनि कृषि व्यवसायबाट आफूहरु सन्तुष्ट रहेको ज्ञानले बताए ।

‘खत्री कृषि तथा पशुपालन फार्म’ले उनीहरुलाई आत्मनिर्भर मात्र बनाएको छैन, इज्जत पनि दिलाएको छ । भाटी बजार नजिकै काउलेमा सञ्चालित फार्ममा झण्डै रु ३० लाख लगानी भएको ज्ञानका दाजु ३५ वर्षीय सम्मरले बताए । पच्चीस रोपनी क्षेत्रफलमा रहेको फार्ममा तरकारी खेती, कुखुरा र माछापालन गरिएको छ ।

फार्मको उत्पादनबाट मासिक रु डेढ लाख बढी कमाइ हुने गरेको सम्मरको भनाइ छ । फार्ममा लेयर्स जातका २५ सय कुखुरा छन् । कुखुराले दैनिक एक हजार अण्डा दिन्छन् । एउटा अण्डा फुटकर रु १५ र थोकमा रु साढे १२ मा बिक्री हुन्छ ।

यस्तै कमन, ग्राफ, राहु, असलालगायत माछापालन गरिएको छ । अहिले दश हजार माछाका भुरा पोखरीमा हुर्किरहका छन् । तरकारी बालीतर्फ मौसमअनुसारको खेती हुन्छ । तीन वटा पूर्ण बन्द प्लाष्टिक घर (टनेल) मा गोलभेँडा, बन्दा, काउली, सिमी, भेण्टा, साग, काँक्रालगायत उत्पादन हुने सम्मरले बताए ।

“नर्सरी बनाएर प्याज, काउलीका बिरुवा पनि बेच्छौँ”, उनले भने, “उब्जाउ माटो र सिँचाइको पनि सुविधा भएकाले तरकारी राम्रो फल्छ ।” फार्मको सबै उत्पादन गलकोटकै हटियालगायतका बजार क्षेत्रमा खपत हुन्छ । उत्पादन दिन सके बजारको कुनै अभाव छैन । तरकारी खेती थप विस्तार गर्ने योजनामा खत्री दाजुभाइ छन् ।

फार्मको जग्गा आफ्नै मामाको भएकाले नियमित भाडा तिर्नु पर्दैन । छेवैमा रहेको गौँदीखोलाबाट बाह्रैमास सिँचाइ पुग्छ । नजिकैबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग गएकाले उत्पादनलाई बजार पु¥याउन सहज छ ।

ठाउँको छनोट, संरचना र व्यवस्थापनका दृष्टिबाट पनि फार्म नमूनायोग्य छ । फार्ममा दुई जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । आवश्यक पर्दा दैनिक ज्यालादारीमा थप कामदार राख्ने गरिएको सम्मरले बताए । ऋणधन गरेर फार्ममा लगानी गरिए पनि राज्यका निकायबाट यथोचित सहयोग पाउन नसकेको उनको गुनासो छ ।

गत आवमा नमूना कुखुरा फार्मका लागि गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले रु दुई लाख ५० हजार अनुदान उपलब्ध गराएको थियो । यस्तै खोर सुधारका लागि गलकोट नगरपालिकाले रु ३५ हजार बजेट दिएको सम्मरले बताए । वडामार्फत माछापालनका लागि दुई पटक गरी रु ४० हजार बजेट आएको उनको भनाइ छ ।

अनुदान सहयोग बढेमा कृषिमा थप लगानी गर्न खत्री दाजुभाइ तयार छन् । “कृषिमै भविष्य देखेर लागेका छौँ, अझै धेरै गर्नुपर्ने छ”, ज्ञानले भने, “आफ्नै ठाउँमा, घर परिवारसँग खुशीसाथ बसेर काम गर्न पाउनु नै हाम्रो खुसी, सन्तुष्टि हो ।” उनले अरुको देशमा खर्चने श्रम र पसिना आफ्नै माटोमा सिञ्चित गर्न पाउँदा गौरव लाग्ने गरेको सुनाए ।

फार्मको छेउछाउ बाँझो पल्टिएको जग्गामा अलैँचीखेतीसमेत गरिएको सम्मरले बताउनुभयो । उनका अनुसार फार्मबाटै माछामासु बेच्ने प्रबन्ध पनि मिलाइएको छ । खत्री दाजुभाइको लगन र मेहनत देखेर छिमेकी दङ्ग पर्छन्, फार्म हेर्न आउने आगन्तुकले प्रशंसा गर्छन् । दाजुभाइ नै काममा उत्तिकै खट्छन् । “दुई भाइ नै विवाहित छौँ, घरपरिवारबाट पनि व्यवसायमा ठूलो साथ, सहयोग छ”, सम्मरले भने ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।