राजनीति

ओलीको पार्टी विरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड (विज्ञप्तिसहित)

Puspakamal Dahal Prachanda

६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकताबद्ध रहेको भन्दै कुनै व्यक्तिका कारण एकतामा असर नपर्ने बताएका छन् ।

सोमवार बिहान वक्तव्य जारी गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै भनेका छन्, ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन ।’

उनले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो (आइतवार) बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भत्र्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने र ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेकोसमेत जानकारी गराएका छन् ।

राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न समेत पार्टी कार्यकर्तालाई अपिल गरेका छन् ।

‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो,’ प्रचण्डले भनेका छन् ।

prachanda notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस