१४ पुस, काठमाडौं । कोभिड–१९ का कारण लामो समयसम्म बन्द हवाई सेवा सुचारु भएसँगैको पछिल्लो सय दिनमा बुद्ध एयरले ३ लाख ७५ हजार बढी यात्रुलाई हवाई सेवा दिएको छ । देशकै ठूलो आन्तरिक वायुसेवा कम्पनी बुद्धले पछिल्ला सय दिनमा करिब चार लाख यात्रुलाई सुरक्षित हवाइ यात्रा गराएको जानकारी दिएको छ ।
लकडाउन पछि सुरक्षित उडानका लागि अधिकतम व्यवस्थापन गरिएको र यही कारण यात्रुहरुको विश्वास पनि बढ्दै गएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर वस्नेतले बताए । ‘हाम्रा हरेक उडानमा यात्रु संख्या थपिंदै जानु हामीले अपनाएको पूर्ण सुरक्षित तथा संक्रमणरहित विधि नै हुनुपर्छ,’ बस्नेतले भने ।
बुद्धले दैनिक चार दर्जनभन्दा बढी उडान गरिरहेको छ । नेपालभर १५ गन्तव्यमा उडान गर्ने बुद्धले दिनमा औषत ३७०० सय यात्रुलाई सेवा दिइरहेको छ । बुद्धसँग दुई बीचक्राफ्ट, ३ एटीआर ४२ र ८ वटा एटीआर ७२ जहाज छन् ।