समाचार

विद्यालय खोल्ने सरकारको निर्णय, जीमखाना र सिनेमा हल पनि खुला

CCMC meeting

१९ पुस, काठमाडौं । कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएका शैक्षिक संस्था र मनोरञ्जनका क्षेत्रहरु अब सञ्चालन गर्न पाइने भएको छ । विगत ९ महिनादेखि घरैमा बस्न बाध्य बालवालिकाहरू अब विद्यालय जान पाउने भएका छन् ।

आइतबार बसेको कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी ) को बैठकले विद्यालय लगायतका सबै क्षेत्रहरु सञ्चालन गर्न दिने निर्णय निर्णय गरेको हो ।

बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नेपाल सरकारको पूर्व निर्णयअनुसार रोक लगाइएको सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको बताए ।

यस्तै कोभिडको संक्रमण कम भएको, बजारमा भिडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय भएको पनि बताए ।

नयाँ प्रकारको कोरोना भाइरस देखिएका संयुक्त अधिराज्य बेलायत लगायतका विभिन्न २०/२२ वटा देशबाट आउने यात्रुलाई १० दिन सम्म क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि सीसीएमसी निर्देशक समितिले गरेको छ ।

यस्तै तेस्रो मुलुकबाट आउने व्यक्तिहरुलाई अनलाइन फारम भर्ने व्यवस्था मिलाइएकोमा त्यसलाई नयाँ भाइरसको कारणले अझ प्रभावकारी रुपमा भराउने सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सहरुलाई निर्देशन दिने सम्बन्धी निर्णय भएको पनि सचिव गुरागाईंले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस