समाचार

पर्यटन मन्त्रीद्वारा नेपाल–प्रज्ञा पतिष्ठानको निरीक्षण

bhanu bhakta dhakal

२० पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थलगत अवलोकन गरी प्रतिष्ठानको काम कारवाहीबारे जानकारी लिएका छन् । मन्त्री ढकाललाई प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले संस्थाका गतिविधिबारे जानकारी गराएका थिए ।

प्रतिष्ठानका गतिविधि र योजनाको जानकारी लिएपछि संस्कृतिमन्त्री ढकालले प्राज्ञिक क्षेत्रको उन्नयनका लागि आफ्नो पूर्ण सहयोग रहने बताए । उनले भने, “प्रतिष्ठानबारे जानकारी लिएर पछि थप छलफल गरौँला, राम्रो गर्नुस् , राम्रो काम गर्नलाई म साथमा छु ।”

कुलपति उप्रेतीले कोभिड महामारीका कारण प्रतिष्ठानका महत्वपूर्ण कार्यक्रम अवरुद्ध भएको र आगामी दिनमा ती कार्यक्रमलाई अघि बढाइने बताए । ‘देवकोटा सङ्ग्रहालय’, अन्तरदेशीय शास्त्रीय अनुवाद कार्यक्रम तथा ‘अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन’ जस्ता कार्यक्रम योजनाबारे पनि उप्रेतीले मन्त्रीलाई अवगत गराएका थिए । नेपाली बृहत् शब्दकोषलाई पुनः मुद्रण गरी एक लाख ५० हजार शब्द कोषको बनाइँदैछ । अबको एक वर्षभित्र कार्य सकिने जनाइएको छ ।

कुलपतिले मुलुकको समग्र पहिचान झल्कने गरी सात वटै प्रदेशका ग्रन्थ लेखन  अघि बढाइएको र प्रदेश नं २ को लेखन सकिएको बाँकी प्रदेशका लागि रु तीन करोड बजेट आवश्यक पर्ने भएकाले सहजीकरणका निम्ति संस्कृतिमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो । नेपाल चिनाउने मानकका रुपमा सातै प्रदेशका भूगोल, भाषासहित १० विषयमा ग्रन्थ लेखिनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस