२३ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको ठाउँमा आफू भएको भए राजीनामा दिने बताएका छन् । राष्ट्रियसभा बैठकमा पहिलोपटक बोल्दै नेकपाका नेतासमेत रहेका गौतमले यस्तो बताएका हुन् ।
उनले अविश्वासको प्रस्ताव आउँदा ओलीको ठाउँमा आफू भएको भए के गर्थे होला भनेर सोच्दा सो प्रस्ताव दर्ताअघि नै पदबाट राजीनामा दिने निर्णयमा पुग्ने बताएका हुन् । “अविश्वासको प्रस्ताव आउला भन्ने सोचेको थिइनँ । आलोचना गर्ने समूहभित्र बसेर पनि पार्टी एकता बचाउन अविश्वासको प्रस्ताव असफल बनाएको थिएँ,” उनले भने ।
त्यस्तै, उनले प्रतिनिधिसभा विघटन गर्दा प्रधानमन्त्री ओलीले आफूलाई नसोधेको पनि बताए । प्रतिनिधिसभा विघटन गर्दा आफूले असंवैधानिक भनेको भन्दै अहिले संवैधानिक इजलासमा विचाराधीन रहेकाले आफूले सोबारे टिप्पणी नगरेको बताए ।

