२९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता लिएको भोलिपल्ट भारतीय सञ्चारमाध्यम जी न्यूजका सम्पादक सुधीर चौधरीले सगरमाथाबारे दिएको विवादास्पद अभिव्यक्तिबारे नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववीयूले आपत्ति जनाएको छ ।
नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वाभिमानका विरुद्ध लगातार रुपमा विषवमन गर्दै आएको जी न्युजलाई प्रधानमन्त्रीस्तरबाटै बालुवाटारमा स्वागत गरिएको परिघटनाले थप आशंकित र आक्रोशित तुल्याएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अनेरास्ववियुले चौधरी र उनको संचारसंस्थालाई भ्रामक र तथ्यहिन समाचार सम्प्रेषण नगर्न र अविलम्ब माफी माग्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले पनि माफी माग्नुपर्ने बताएका छन् ।
‘संविधान लत्याएर प्रतिगमनको बाटोमा हिँडेका प्रधानमन्त्री ओलीलाई सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आँच पुर्याउने ब्यक्ति र संस्थाहरुसंग रहस्यमय र अपारदर्शी भेटघाट र सांठगांठ नगर्न चेतावनी दिन चाहन्छौं । यसका साथै प्रधानमन्त्री ओलीलाई चौधरीसँगको भेटवारे तत्काल जनतालाई स्पष्ट पार्न, आइन्दा त्यस्ता कुटनीतिक मर्यादा विपरितका भेटघाट नगर्न र यसअघि गरेको कुटनीतिक मर्यादा विपरितका भेटघाटबारे जनता समक्ष अविलम्ब माफी माग्न जोडदार माग गर्दछौं ।’, विज्ञप्तिमा भनिएको छ