१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।
कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना गरेको भन्दै मंगलबार मुद्दा दर्ता भएको हो । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले आइतबार र अर्का अधिवक्ता कञ्चनकुमार न्यौपानेले सोमबार पेस गरेका निवेदन मंगलबार दर्ता भएको हो ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा मुद्दा विचाराधीन रहेको अवस्थामा सार्वजनिक रुपमा दिएका अभिव्यक्ति, ९४ वर्षीय वरिष्ठतम् वरिष्ठ अधिवक्ताका बारेमा दिएका अभिव्यक्ति र इजलासमा भइरहेको बहसलाई ‘तमासा’ संज्ञा दिएको जस्ता आधार देखाउँदै रिट निवेदकले प्रधानमन्त्रीका उल्लेखित अभिव्यक्तिबाट न्याय प्रक्रियाको गरिमामा आँच पु¥याएको र न्यायालयको समेत अपहेलना भएको दावी गरेका छन् ।