समाचार

बेलायतमा मस्तिष्काघातबाट बुद्धिजिवी एवम् पूर्व गोर्खा डा लक्सम्बाको निधन

dr chandra laksamba

१४ माघ, काठमाडौं । बेलायतका कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका नेपाली समुदायका एक चर्चित बुद्धिजिवी एवम् पूर्व गोर्खा अभियन्ता डा चन्द्र लक्सम्बाको मंगलबार निधन भएको छ । श्रीमती र दुई छोराहरुसँग बेलायतमा बस्दै आएका ५९ वर्षीय डा. लक्सम्बाको पुर्ख्यौली घर ताप्लेजुङ भएपनि पछिल्लो समय धरानमा बस्दै आएका थिए ।

कोरोना सङ्क्रमण भई यही माघ ५ गतेदेखि अस्पतालमा उपचार भइरहेकै अवस्थामा अचानक मस्तिष्काघात भएपछि उनको भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । उच्च रक्तस्राब भएका कारण शल्यक्रिया गर्न नसकिने र बचाउने अन्य कुनै उपाय नरहेपछि अस्पतालले परिवारलाई भेट्न बोलाएको थियो। परिवारका अन्य सदस्यहरूलाई समेत कोरोना देखिएका कारण अस्पताल भर्नापछि परिवारका कसैलाई पनि अस्पताल प्रशासनले भेट्न अनुमति दिएको थिएन ।

गोर्खा सैनिकबाट अवकास भएपछि करीब दुई वर्ष अक्सफोर्ड विश्वविद्यालयमा अनुसन्धान सहायकका रूपमा काम गरेका लक्सम्बाले सन् २००६ देखि २००९ सम्म नेपाल अध्ययन केन्द्र, युकेले गरेको बेलायतमा बस्ने नेपालीहरुको गणना परियोजनाको संयोजकका रूपमा काम गरेका थिए । पछिल्लो समय यहाँ बेलायतको स्थायी बसाइ टुङ्ग्याई नेपाल फर्केर खुला विश्वविद्यालयमा प्राध्यापकका रूपमा रहेका उनी केही समयअघि मात्र श्रीमती र छोराबुहारीलाई भेट्न बेलायत आएका थिए ।

राजनीतिकरूपमा पनि सक्रिय डा लक्सम्बा विसं २०३६ सालमा अस्कल क्याम्पस स्ववियुको सभापतिमा निर्वाचित भएका थिए । त्यसपश्चात् ब्रिटिश गोर्खामा भर्ना भई १९ वर्ष सेवा गरी अवकास भएका हुन । उनलाई नेपाल सरकारले गत वर्ष लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको सदस्य पदमा पनि नियुक्त गरेको थियो। स्वर्गीय लक्सम्बाका श्रीमती र दुई छोरा छन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस