मुख्य समाचार

निर्मला पन्त हत्या प्रकरण सम्झाउने बैतडीको विभत्स घटना

bhagarati hattya

२५ माघ, महेन्द्रनगर । बैतडीको दोगडाकेदार गाउँपालिका-७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढि्थन् । घरबाट स्कुल पुग्न झण्डै एकघण्टा जंगलको बाटो हिँड्नुपर्छ । यद्यपि स्कुल जाँदा-आउँदा साथीहरु हुन्थे ।

बुधबार अपरान्ह २ बजे विद्यालय छुटेपछि उनी हतार छ भनेर साथीलाई छाडेर गएकी थिइन् । सँगै हिंडेका केटा साथी कपाल काट्न छिरेपछि भागरथी फर्किएकी थिइन् । तर, उनी घर पुगिनन् । दुई महिना अघि मात्र उनको पिताको मृत्यु भएको थियो । घरमा आमा थिइन् । दाजु भारतमा रोजगारीका लागि गएका छन् ।

भागरथी साँझसम्म घर नफर्किएपछि उनको खोजी भयो । तर भोलिपल्ट बिहीबार स्कुलबाट फर्किएकाहरुले लबलेक सामुदायिक वनमा बनमारा झाडी माडिएको देखे । भागरथी हराएको थाहा पाएका उनीहरुले गाउँलेलाई खबर गरे । गाउँ नजिकै रहेको प्रहरी चौकीबाट प्रहरीहरु पनि पुगे । ‘मान्छे मारेर फालेको भन्ने खबर पाएपछि म पनि गएँ ! हेर्दा, भागरथीकै शव रहेछ’ दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले भने ।

bhagarati hattya

भागरथीको निकै बीभत्स किसिमले हत्या गरिएको थियो । त्यो देख्दा निर्मला प्रकरण सम्झिएको भन्दै कार्की भन्छन्, हामीले हेर्दा दुबै घटना उस्तै हो जस्तो लाग्छ ।’ २०७५ साउन १० गते साथीको घरमा पढ्न गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखु बारीमा शव भेटिएको थियो ।

प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टोउकोमा चोट लागेको छ, घाँटीमा थिचेर हत्या गरेको जस्तो देखिने मार्क छ भने हातमा कोतरिएको छ । यौनाङ्गमा रगत बगेको समेत पाइएको छ । प्रहरीले भागरथीको पनि बलात्कारपछि हत्या भएको देखिन्छ भनेको छ र, यसबारे यकिन गर्न भेजाइनल स्वाबलगायत आवश्यक नमुना परीक्षण गर्ने तयारी भइरहेको छ ।

bhagarati hattya

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार शनिबार जिल्ला अस्पतालमा भट्टको पोष्टमार्टम गरिएको छ । रिपोर्ट आउन केही दिन लाग्छ । घटनास्थलमा लगिएको प्रहरीको तालिम प्राप्त कुकुरले भागरथीको मोबाइल पनि भेट्टाएको छ ।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडी, प्रदेश प्रहरी देखि सीआइबी पनि सक्रिय भएको छ । घटनामा सोधपुछका लागि ६ जनालाई नियन्त्रणमा लिइएको बुझिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस