वाग्मती प्रदेश मुख्यमन्त्री परिषद्को बैठकः यातायात व्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा ढुङ्गाना

२८ माघ, काठमाडौं । वाग्मती प्रदेश सरकारले यातायात व्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा जगदिशचन्द्र ढुङ्गानालाई नियुक्त गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालय वाग्मती प्रदेश र शहीद गङ्गालाल हृदय रोग प्रतिष्ठानबीच प्रदेशभित्रका हृदयघातबाट प्रभावितहरूको उपचारमा निरन्तरता दिने र १२ घण्टाभित्रै हृदयघात भएका बिरामीलाई उपचारको लागि प्रदेश सरकारले शहीद गङ्गालाल हृदय रोग प्रतिष्ठानसम्म पुर्याउने सहमति भएको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

बैठकले विभिन्न विधेयक तर्जुमाको लागि आवश्यक समितिमा पठाउने निर्णय गरेको पनि आर्थिक मामिला तथा योजनामन्त्री तथा प्रवक्ता ढुङ्गेलले बताए । यसैगरी उक्त बैठकले स्थानीय निकायमार्फत प्रदेशका विभिन्न कानून कार्यान्वयन गराउन कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई जिम्मेवारी दिने सहमति गरिएको पनि प्रवक्ता ढुङ्गेलले जानकारी दिए । सोही बैठकले प्रदेशभित्रका सङ्घीय प्रहरी एकाइमा सवारी साधन उपलब्ध गराउने निर्णय गरेको छ ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।