मुख्य समाचार

रामकुमारी झाँक्रीलाई प्रहरीले बोलायो, उपस्थित नभए पक्राउ गर्ने तयारी

ramkumari

२९ माघ, काठमाडौं । संसद विघटनविरुद्धको एउटा सभामा बोल्ने क्रममा राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको प्रकरणमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि पक्राउ गर्ने तयारी गरेको छ । नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सोधपुछका लागि बोलाउँदा उपस्थित नभएपछि बिहीबार पक्राउको तयारी गरेको हो ।

राष्ट्रपमुख (राष्ट्रपति)विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको कसुरमा ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले झाँक्रीलाई कारबाही गर्न माग गर्दै गत साता गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र नै बुझाएको थियो । ज्ञापनपत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेकाले पक्राउ गरी कारबाही गर्न माग गरेको थियो ।

‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु’ गत साता गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले भनेकी थिइन् ।

नेकपा केन्द्रीय सदस्य र निवर्तमान सांसद समेत रहेकी झाँक्रीले काठमाडौँमा भएको बुधबारको बिरोध सभामा राष्ट्रपति सम्मनित संस्था भएपनि उक्त पदमा बस्ने व्यक्तिको कार्यशैली ठीक नभएको भन्दै गलत कार्यशैलीको विरोध गरेको बताएकी थिइन् ।

‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । महिला अस्मिता र संविधानविरुद्ध काम गर्ने खलपात्रविरुद्ध बोल्दा महिलाको अस्मिता मिचिदैन बरु भागरथी भट्ट र निर्मला पन्तको बलात्कार र हत्या हुँदा मिचिन्छ । राष्ट्रपति संस्था हो, संस्थाको कुनै लिंग हुँदैन’, झाँक्रीले बुधबार काठमाडौमा भएको सभामा भनेकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस