१२ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले स्थायी कमिटी बैठक बोलाएको छ । सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले बताए ।
आकस्मिक भनिएको बैठकको एजेन्डा भने नखुलाइएको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेपछिको उत्पन्न परिस्थितिका बारेमा छलफल हुने उनले बताए ।
बैठक ११ बजेलाई बालुवाटारमा बोलाइएको छ । यसअघि, प्रधानमन्त्रीका प्रेस सूर्य थापाले सर्वोच्चको निर्णय बावजुद प्रधानमन्त्रीले तत्काल राजीनामा नगर्ने जानकारी दिइसकेका छन् । अदालतको निर्णयले राजनीतिक समस्या हल नगर्ने ओली समूहको तर्क रहेको छ ।
प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो । त्यस्तै, १३ दिनभित्र संसद्को बैठक बोलाउन अदालतले आदेश जारी गरेको छ ।

