Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

नारायणगढ–बुटवल सडक: निर्माण भए २२ साना पुल

१३ फागुन, नवलपुर । सडकमार्गबाट देशका मेची काली जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । देशकै गौरवकै आयोजनाका रुपमा रहेको सो खण्डको विस्तारले यही फागुनदेखि तीव्रता पाएको हो ।

सडक विस्तारअन्तर्गत खण्ड १ को गैँडाकोट–दाउन्ने सडकमा साना कल्भर्ट निर्माणको काम सकिएको छ । गैँडाकोटमा अधिकांश साना कल्भर्ट निर्माण भइसकेको तथा देवचुलीको रहर र कावासोतीको खरकट्टा जङ्गल क्षेत्रमा पनि कल्भर्ट निर्माणको काम सकिएको आयोजनाले जनाएको छ ।

बाइस साना कल्भर्ट निर्माण भएर १२ ठूला पुलको काम पनि तीव्र गतिमा अगाडि बढेको आयोजना प्रमुख रमेशकुमार दिष्टीले बताए । दिष्टीका अनुसार गैँडाकोट क्षेत्रमा पाँच स्थानमा अस्थायी मार्ग परिवर्तन गरेर ठूला पुल निर्माणको काम धमाधम अगाडि बढेको छ । सडकको दायाँबायाँ सतह मिलाउने, नाला निर्माण गर्ने र गैँडाकोट क्षेत्रमा पर्ने सडक भित्ता कटान तीव्र गतिमा भइरहेको उहाँको भनाइ छ ।

सडक किनारका रुख काटिँदै

सडक किनारका रुख कटान र विद्युत्का तार र खम्बा सार्न ढिलाइ हुँदा समयमै काम सक्न चाप परेको प्रमुख दिष्टीले बताए । राजमार्गबाट उत्तरतर्फका रुख कटानको काम तीव्र रुपमा भइरहँदा दक्षिणतर्फको रुख कटान भने हुन सकेको छैन । दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र परेकाले निकुञ्जले अनुमति नदिँदा रुख कटान रोकिएको आयोजना प्रमुख दिष्टीले जानकारी दिए ।

सडक विस्तार गर्दा झण्डै ११ हजार रूख काटिने आयोजनाले जनाएको छ । यो खण्डको ६ स्थानमा वन क्षेत्र छ । छपान (रुख काट्न नम्बर लगाउने) भइसकेको र मन्त्रालयबाट अनुमतिसमेत पाइसकेका अवस्थामा निकुञ्जले अनुमति नदिँदा काम रोकिएको उनले बताए । सडक किनारका खम्बा निर्माण व्यवसायीमार्फत हटाइने भएकाले सो कार्य छिट्टै शुरु हुने उनले विश्वास व्यक्त गरे ।

नारायणगढ–बुटवल सडक खण्ड विस्तारअन्तरगत पूर्वी खण्डमा १२ ठूला (मेजर ब्रिज) र साना २२ (माइनर ब्रिज) पुल बन्ने आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । सोही क्षेत्रमा २२४ बकस कल्भर्ट बन्नेछन् । हाल ठूलो पूल भएका स्थानमा सडकबाट उत्तरतर्फ ११ दुई लेनका नयाँ पुल बन्नेछ । दुम्किबासको ज्यामिरेको एउटा पूल मात्रै दक्षिणतर्फ बन्ने आचार्यले जानकारी दिए । रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गरी तीन जिल्लालाई छोएको सो आयोजनाअन्तर्गत साना २२ पुल सबै नयाँ बन्ने आचार्यको भनाइ छ ।

चार स्थानमा जैविक मार्ग

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पहिलो खण्ड गैँडाकोटदेखि दाउन्नेसम्मको जङ्गल क्षेत्रमा चार ठाउँमा जैविकमार्ग निर्माण गरिने आचार्यले जानकारी दिए । जङ्गली जनावार वारपार गर्नका लागि चार स्थानमा अन्डरपास (सडकमुनिबाट जनावर वारपार गर्ने बाटो) बनाउने र दाउन्ने क्षेत्रमा ओभररपास (सडकको माथिबाट जनावर हिँडडुल गर्ने ठाउँ) निर्माण गरिने योजना छ । सडकबाट नै जनावर वारपार गर्दा दुर्घटनामा पर्न सक्ने भएकाले तिनका लागि वैकल्पिक मार्गका रुपमा जैविक मार्ग निर्माण गर्न लागिएको सूचना अधिकारी आचार्यले बताए ।

सडकमा अन्डरपासका लागि आयोजनाले केही स्थानमा अहिले रहेका कल्भर्ट नै प्रयोग गर्ने भन्दै आचार्यले केही स्थानमा भने नयाँ बनाउने तयारी रहेको बताए । नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले लिएको छ । एक सय १४ किमी सडक खण्डको काम गैँडाकोट–दाउन्ने र दाउन्ने–बुटवल दुई खण्डमा विभाजन गरेर शुरु गरिएको हो । गैँडाकोट–दाउन्ने ६५ किमी सडकलाई खण्ड १ र दाउन्ने/बुटवल ४९ किमी सडकलाई खण्ड २ मा छुट्याएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ ।

अहिले दुई लेन रहेको नारायणगढ–बुटवल सडक खण्डलाई चार लेनको बनाउन लागिएको हो । दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’ सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात÷सात मिटरको हुनेछ । बजार क्षेत्रमा ६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । बजार क्षेत्रको २८ किमी सडकमा सर्भिस लेन निर्माण हुनेछ ।

सार्वजनिक सवारी साधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने आयोजनाले जनाएको छ । दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिनेछ । उकालोतर्फ चढ्ने सवारी साधनले प्रयोग गर्नेगरी दुई लेन र ओरालोमा झर्ने सवारी साधनले एक लेन प्रयोग गर्नेगरी तीन लेनको सडक निर्माण गरिने आयोजनाले जनाएको छ ।

१७ अर्ब लागत

विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले शिलान्यास गरेको सडक ५८ वर्षपछि फराकिलो हुने क्रममा छ । एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा विस्तार शुरु भएको सडक निर्माणको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ । लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी थप नेपाल सरकारकै लगानी रहेको आयोजना प्रमुख दिष्टीले बताए । गैँडाकोट–दाउन्ने सडकखण्डको लागत रु नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत रु सात अर्ब ८६ करोड ३४ लाख छ ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।