समाचार

न्यायाधीश धम्क्याउँदै उपप्रधानमन्त्री पोखरेल

Ishwor pokhrel

१५ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याएका छन् ।

अदालतका न्यायधीशले भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएकाले आफूहरू जनताले गर्ने फैसलाको प्रतीक्षामा रहेको बताउँदै उनले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको टिप्पणी गरेका छन् ।

‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्चका न्यायाधीशहरू होइनन् र हुन सक्दैनन्, सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन्’, उनले भने, ‘हामीले भनेका छौं, तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दै थियो, त्यही दुर्भाग्यतिर जानका लागि प्रेरित गरेको छ ।’

ओली समूहको विद्यार्थी संगठन अनेरास्ववियुको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिने पनि बताएका थिए । ‘म चुनौती दिन चाहन्छु, सरकारविरुद्ध अविश्वास ल्याए हुन्छ। प्रधानमन्त्रीले डटेर सामना गर्नुहुनेछ’, पोखरेलले भने ।

उनले अविश्वासको प्रस्तावको सामना गर्दा आउने परिणाम स्वीकार गर्ने पनि बताए । ‘केपी ओली संसद्को सर्वोच्चतालाई मान्छन् । त्यहाँ सामना गर्छन् । तिम्रो हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याऊ, त्यो अविश्वासको प्रस्तावको सामना गर्छन् केपी ओलीले ।

केपी ओलीको नेतृत्वमा रहेको नेकपाले ती सबै लोकतान्त्रिक विधिबाट आउने कुराहरूको सामना गर्छ,’ पोखरेलले नेकपाको दाहाल–नेपाल समूहलाई लक्षित गर्दै भने । यो समाचार आजको नागरिक  दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस