१५ फागुन, काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक सम्पन्न हुँदैछ । ब्रत समापनको अवसरमा एकाबिहानै शालीनदीसहित, भक्तपुरको हनुमानघाटलगायत विभिन्न स्थानमा माधवनारायणका ब्रतालुहरु स्नानका लागि पुगेका थिए । पौष शुक्ल पूर्णिमादेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ ।
विधिपूर्वक एक महिने ब्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ-आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने ब्रत विधि छ ।
यसैबीचशालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण ब्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिँदै छ । विगत वर्षमा करिब ४०० जनाले माधवनारायण ब्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ ।