२१ फागुन, काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिबारे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले हतियारबारे प्रश्न गरेको छ । आज (शुक्रवार) सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव समूहले राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ भन्दै प्रश्न गरेका हुन् ।
‘प्रचण्ड आउँदा खोलाले बगायो, थोरै हतियार विप्लव आउँदा पूरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ,’ प्रवक्ता शर्माले ट्वीटरमा लेखेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि हतियारबारे प्रश्न उठ्दा प्रचण्डले हतियार खोलाले बगाएको प्रतिक्रिया दिएका थिए ।
विप्लव समूहसँग हातहतियार रहेको भए पनि सरकारले सहमति गर्दा ती हतियार बुझाउनेबारे केही खुलाएको छैन ।